बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी - himalayan goat breeding farm

बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी

 प्रजनन्को लागि वोका कस्तो हुनुपर्छ
धेरै शारीरिक तौल भएको, मोटो गर्धन भएको, मोटो र बलियो अग्ला खुट्टा भएका, निरोगी बाउ र २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ बाट जन्मेको तन्दुरुस्त वोका प्रजनन्का लागि प्रयोग गर्नुपर्छ र मात्र गतिलो वोकाको प्रयोगले गतिला पाठापाठी जन्माउन सकिन्छ ।
 बाख्री वा पाठी कस्तो हुनुपर्छ
 २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ वा यस्तै माउबाट जन्मेको तन्दुरुस्त पाठी भविष्यमा पाठापाठी उत्पादन गर्ने कार्यको लागि उपयोग गर्नु पर्दछ ।
बाख्रापालनमा प्रयोग हुने प्रजनन् विधिहरु
१. हाल गाउंघरमा भैरहेको प्रजनन् विधिः
 प्रजनन् कार्यको लागि कस्तो वोका र कस्तो बाख्री वा पाठी छान्ने वारेमा कुनै चासो नभएको । जुनसुकै बाख्री वा पाठी जुनसुकै वोकाबाट प्रजनन् भएपनि मतलव नगरिएको । प्रजनन् हुने वोका र बाख्री वा पाठी बिच कुनैपनि किसिमको नाता पर्न सक्नै (जस्तै बाउ–छोरी, आमा–छोरा, दाजु–बहिनी वा दिदी–भाई) बारे ख्याल नगरिएको । यस किसिमको नातेदार प्रजनन्को कारण बाख्रापालनमा के कस्ता असरहरु पर्दछन् भन्ने वारेमा ज्ञान र चासो नभएको । व्यवहारमा यसरीनै नातेदार प्रजनन् भैरहेको । नातेदार प्रजनन्का असरहरु नातेदार प्रजनन्बाट जातिय शुद्धता त कायम रहन्छ तर यसको वेफाइदाहरु यस प्रकार छन्ः बंश खिइदै जान्छ । पहिलो नातेदार प्रजनन् बाट जन्मेको पापाठीमा सामान्यतया १ के.जि.को दरले शारीरिक तौल घट्छ भने दोश्रो पूस्तामा आधा के.जि. घट्छ । यसरी नातेदार प्रजनन् भैरहने र तौल घटी राख्ने अवस्थामा बाख्राहरु झन् भन्दा झन् साना र ख्याउटे हुंदै जान्छन् । मृत्यूदर बढ्दै जान्छ । नातेदार विच प्रजनन् हुंदै जांदा यस्तो प्रजनन्बाट जन्मने पाठापाठीहरुको मृत्यू हुने क्रम पनि बढ्दै जान्छ । जन्मेका पाठापाठी ठूला भएर आम्दानी लिनुपर्ने ठाउंमा सानैमा मर्न थालेपछि बाख्राबाट आम्दानी लिन सकिदैन । पहिलोपटक वाली हुने उमेर बढ्दै जान्छ । सामान्यतया हाम्रा स्थानिय जातका बाख्राका पाठीहरु ७–८ महिनाका भएपछि वोका लिने गर्दछ । तर पाठीहरुको प्रजनन् स्वास्थ्यको हिसावले १० महिना कटेपछि मात्र वोका लगाउनु राम्रो हुन्छ । तर नातेदार प्रजनन्बाट जन्मेको पाठीहरु १ वर्ष वा त्योभन्दा बढीको हुंदा पनि वोका नलाग्न सक्छ । यसबाट छिटो प्रतिफल लिन कठिनाई हुन्छ । बाख्रापालनमा लगानी बढ्न जान्छ र राम्रो आय आर्जन गर्न सकिदैन । एकपटक व्याएपछि पुन वालीजान ढीलो हुन्छ । साधारणतया बाख्री व्याएको २ महिनापछि पुनः वाली जाने गर्दछ र बाख्रापालनबाट छिटो प्रतिफल लिन सकिन्छ । तर नातेदार प्रजनन्बाट जन्मेका पाठीहरु एकपटक व्याएपछि २ महिनामै वोका नलागेर ४–५ महिना लाग्न सक्छ । यसको कारणले प्रतिफल राम्रो आउंदैन । रोगी हुन्छ । नातेदार प्रजनन्बाट जन्मेको पाठापाठीहरु रोगी हुने, ख्याउटे हुने राम्ररी नबढ्ने जास्ता समस्याले ग्रस्त हुन्छन् ।
 २. प्रजातिय प्रजनन् विधिः
प्रजातिय भनेको प्रजनन् हुने वोका र बाख्री दई अलग्गै जातका भन्ने बुझ्नु पर्दछ । उदाहरणको लागि सानन बाख्राको वोका र खरी बाख्री विचको प्रजनन् लाई प्रजातिय प्रजनन् भन्न सकिन्छ । यस प्रकारको प्रजनन्मा बाख्राको जातै फरक हुने हुंदा नाता सम्बन्ध हुने कुरै हुंदैन । यसरी प्रजनन् भएर जन्मने पाठापाठीहरु भविष्यमा राम्रो उत्पादन र आम्दानी दिन सक्ने त हुन्छन् तर यस प्रकारको प्रजनन् प्रणलीलाई निरन्तर गर्दा जातिय शुद्धता हराएर जान्छ । उदाहरणको लागि खरी बाख्रीहरु सबैमा हामीले सानन वोकाबाट प्रजनन् गराइरह्यौं भने खरि र साननको मिश्रित गुण भएका पाठापाठीहरुको बृद्धि हुंदै जान्छ र समुदायमा खरी बाख्रा हराउंदै जान्छ । त्यसैले जातिय शुद्धतालाई जोगाइ राख्न सबै खरी बाख्राहरुलाइ सानन सँग प्रजनन् नगराइ निश्चित सँख्यामा छनाैट गरेर मात्र प्रजनन् गराउने र निश्चित सँख्याका खरी बाख्राहरुलाइ खरी वाेकाबाटै प्रजनन् गराइ खरीकाे जातिय सँरक्षण पनि गरिरहनु पर्दछ । बाख्राको गुणस्तर पनि सुधार हुने र जातिय शुद्धतापनि हराउन नदिने प्रजनन् विधि स्वजातिय प्रजनन् – नाता वाहिर आफ्नै जातभित्र तर प्रजनन् हुने वोका र बाख्री वा पाठी बिच कुनैपनि नाता सम्बन्ध नभएको हुनुपर्छ । यसको लागि कस्तो वोका र कस्तो बाख्री वा पाठी हुनुपर्छ भन्ने कुरा माथि उल्लेख भैसकेको छ । माथि उल्लेख भए अनुसारको वोका र बाख्री वा पाठी छान्ने र संधै नाता नपर्ने गरी ख्याल राखेर प्रजनन् गराउनु पर्छ । नियन्त्रित प्रजनन् व्यवस्था मिलाउन सकिएन भने नाता जोगाउन पनि सकिदैन । त्यसैले नाता नपर्ने राम्रो गुणस्तरीय विउ वोका राखेर बांकी वोकाहरुलाई खसी बनाइदिनु पर्छ । सामान्यतया १५–१८ महिनामा पहिले वोका लागेर जन्मेको पाठीहरु प्रजनन् हुने अवस्थामा पुगेको हुन्छन् र ती पाठीहरु पुरानै वोकाबाट प्रजनन् भएमा बाउ–छोरी बिच प्रजनन् हुन पुग्छ । त्यसैले प्राय १५–१८ महिनामा विउ वोको साट्ने गर्नु पर्दछ । पुरानो वोकोलाई खसी बनाइदिने वा बेचिदिने र नयां वोकाको व्यवस्था गर्नुपर्छ । तवमात्र नातेदार प्रजनन् जोगाउन सकिन्छ र बाख्राकाे गुणस्तर सुधार गरी उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ।