किम्बु घास एक परिचय - himalayan goat breeding farm

किम्बु घास एक परिचय

kimbu ghas
kimbu ghas 
किम्बु बिरुवाको सबै भाग उपयोगमा आउने हुनाले यसलाई भारतमा कल्पबृक्ष पनि भनिन्छ । तराईदेखि पहाडको २२०० मिटर उचाइसम्म लगाएर २० बर्षसम्म उत्पादन लिन सकिन्छ । यो छिटो हुर्कने प्रजातिको बनस्पति हो । किम्बु पतझड बनस्पति भएकाले केही हदसम्म तुषारो सहन सक्छ । यसको प्रसारण बिउ र हांगा काटेर पनि गर्न सकिन्छ । तर, यो अति सुख्खा तथा माटोको तह कम भएको क्षेत्रमा भने फस्टाउन सक्दैन । ।
रेशमखेती गर्नका लागि तराई र सिंचित क्षेत्रमा होचो कदको रुपमा फेददेखि नै हाँगा पलाउन छोडिन्छ र बर्षको चार पटकसम्म काटेर कीरा पालन गरिन्छ भने असिंचित क्षेत्रमा एक डेढ मिटर उचाइका होचो रुखका रुपमा हुकाई बर्षको तीन पटकसम्म हाँगा छिमोलेर रेशमकीरा पालन गरिन्छ । किम्बु सडकको छेउ र घर वरिपरि सौन्दर्यदायक बिरुवाका रुपमा पनि रोपिन्छ । मंसिरदेखि माघसम्म पात झर्ने र गर्मी महिनामा प्रशस्त पातसहित झ्याम्म पलाएका हाँगाहरुले छहारी प्रदान गरी शितलता दिन्छ । यसले प्रदान गर्ने छहारीमा अदुवा, बेसार कफी तथा चियासमेत रोपेर थप आयआर्जन गर्न सकिन्छ । किम्बुको पात, हरियो डांठ र कीरा पालनबाट उपलब्ध बिष्टा एवं प्युपा पशुआहारको स्रोतःकिम्बुको पातमा रहेको उच्चस्तरको प्रोटिनबाट रेशम कीरा पालन गरिन्छ । किम्बु रेशमकीरा पालनको एकमात्र आहारका रुपमा प्रयोग भएको छ, तथापि पात टिपेर बाँकी रहने कलिलो डांठ कीराका लागि प्रयोग नहुने र रेशम कीराले पात खाएर बाँकी रहने पातको नसासहित कीराको बिष्टा पनि पशु आहारका रुपमा प्रयोग गर्न सकिन्छ ।पशुपालनमा रेशमकीराको किम्बुले पुर्याउने योगदान एक रोपनी जमिनमा लगाइएका किम्बु बिरुवाबाट बर्ष भरिमा हाँगासहितको पात उत्पादन तराइमा २० क्वीन्टलभन्दा बढी र पहाडमा १५ क्वीन्टल हुन्छ । रेशमकीरा पालनका लागि हाँगासहित किम्बु काटेर पात कीरापालनका लागि टिपेर वा हाँगा सहित ख्वाएर प्रयोग गरिन्छ । पात ख्वाएर कीरापालन गर्दा खाएर बाँकी रहने ३० प्रतिशत घाँस, हरियो डाँठ र कीरापालनबाट प्राप्त बिष्टा पशुआहारका लागि प्रयोग गरिन्छ । एकपटक किम्बु बिरुवा हुर्किएपछि २० बर्षसम्म उत्पादन दिन्छ । तर, काँटछाँटमा भने ध्यान पुर्याउनुपर्छ । किम्बुको हाँगा काँटछाँटबाट तराईमा १ रोपनीबाट ६०० केजी जति दाउरा पनि उत्पादन हुन्छ ।
एक हेक्टर जमिनमा किम्बु खेती लगाई गरिएको रेशमखेतीले बर्षैभरि १३ जनालाई रोजगारी मिल्छ । पशुदानाका लागि किम्बुको उपयोग, दृष्टिकोण र अभ्यास : पशुपालनका लागि हरियो घाँस उपलब्धता हुने महिनाको दृष्टिले चैत, बैशाख र जेष्ठ सुख्खा महिना हुन् । किम्बु बिरुवा फागुन महिनादेखि पालुवा पलाएर चैत महिनादेखि काट्नका लागि उपलब्ध हुन्छ ।
किम्बुको पातमा निहित प्रोटिन र चिनीको मात्रा जति पात छिप्पिदै जान्छ उति घट्दै जान्छ । त्यसैगरी किम्बुको पातमा पोटासियम र फलाम तत्व पशुका लागि चाहिने भन्दा पनि अधिक मात्रा क्रमश ०.५ –१ र ३ –५० पीपीएम रहने उल्लेख गरिएको छ । त्यस्तै पातमा निहित क्याल्सियम २.४ देखि ४.७ प्रतिशत जुन पशुको लागि चाहिने मात्रा (०.१९ – ०.८२) बढी भएकाले दुधालू पशुको शुरुको अवस्थामा दूध उत्पादन वृद्धि गर्न सहायकशिद्ध हुने भएता पनि पछिल्लो अवस्थामा बाँझोपन गराउन सक्ने भएकाले पशु आहारको एक भागको रुपमा मात्रा प्रयोग गर्न सुझाव दिइएको छ । रेशमकीरा पालन गरी बाँकी रहेको कलिलो डाँठमा पनि क्रुड प्रोटिन ११.५ प्रतिशत, ७६.५ कार्बोहाईड्रेट ९.३ प्रतिशत खरानी १.५६ क्याल्सियम ०.२ फोसफोरस रहने उल्लेख गरिएको छ । गाउँघरमा पशुपालनका लागि प्रयोग गरिने पशुदानाको मुख्य स्रोत र यसमा पाइने पोषण तत्वसँग तुलना गरी हेर्दा अधिकांश पोषणतत्व किम्बुमा पाइने भएकाले रेशमखेती र पशुपालन व्यावसायको अन्तरसम्बन्ध घनिभूत गर्न आवास्यक देखिन्छ ।
छायाँमा सुकाएको किम्बुको पात कुखुराको रासनमा ६ प्रतिशतसम्म मिसाउँदा कुखुराको अण्डा उत्पादन वृद्धि हुनुका साथै फुलको पहेलो भागमा सकारात्मक असर पर्ने अनुसन्धानको नतिजाबाट पाइएको छ । किम्बुको पातको क्रुड प्रोटिन अन्य गुणस्तरयुक्त डालेघाँस बडहर र ईपिलईपिलसँग तुलना गर्दा राम्रो पाइएको छ । जबकि प्राय: राम्रो मानिएको डालेघाँसमा ट्यानिन भन्ने तत्व बढी मात्रामा पाइन्छ । तर किम्बुको घाँस ट्यानिन रहित हुने भएकाले पनि प्रचलित डालेघाँसको तुलनामा राम्रो मानिएको छ । किम्बुको पातमा हुने नाईट्रोजन सल्फर र अन्य खनिजको प्रयाप्त मात्राले पशुको पाचन प्रणालीमा जैबिक प्रोटिन संश्लेषण हुन गई पशुलाई ख्वाइने सुख्खा पराल तथा छ्वालीजस्ता रेशादार पदार्थको उपयोगिता बृद्धि गराउँछ । पशुको पाचन प्रणालीमा जैबिक प्रोटिनको उपलब्धताले बायुमण्डल प्रदुषित ग्यास जस्तै मिथेन र कार्बनडाइअक्साइड उत्पादनमा कमी गराउँछ । नेपालमा अधिकांश पाखो र खेतीयोग्य तर दिनानुदिन बाँझिदै गएका जमिनमा किम्बुखेती बिस्तारको माध्यमले रेशमखेती विस्तारका अतिरिक्त पशुपालन व्यवसायमा महत्वपूर्ण योगदान हुन्छ । साना तथा मझौला कृषकको बाहुल्य रहेको नेपालमा जीवनस्तरको एकमात्र आधार भनेको पशुपालनमा आधारित कृषि प्रणाली नै हो ।