khari bakhra |
नेपालमा अहिले वार्षिक पाँच लाख खसी–बोका आयात भइरहेको सरकारी तथ्यांक छ। सरकारी निकायको जानकारीमा नपर्ने गरी खुला सीमाबाट त्योभन्दा बढी खसी–बोका भित्रिरहेका छन्। वार्षिक १० लाख खसी–बोका भित्रिरहेको मानेर गोटाको रु.१० हजारले हिसाब गर्दा वार्षिक रु.१० अर्ब बाहिरिइरहेको देखिन्छ, जुन कृषिप्रधान मुलुकको लागि सुहाउँदो कुरा होइन।
खरी बाख्रा समुद्र सतहबाट ७०० देखि ७००० फीटसम्मको नेपाली भूभागको रैथाने प्रजाति हो जुन केहीअघिसम्म धेरै पालिने बाख्रामा पर्थ्यो। खरी बाख्राको विशेषता सजिलै बिर्सन सकिने खालको पनि छैन। खरीका विभिन्न सात रंगमध्ये कालो र खैरोलाई बढी तिक्खर–तेजिलो मानिन्छ। मासु पर्ने कुरामा पनि खरी अरू प्रजातिभन्दा पछाडि छैन। केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालय (हरिहरभवन पुल्चोक) का वरिष्ठ अधिकृत कृष्णप्रसाद रिजालका अनुसार, बडो स्वादले दाना–घाँस खाने खरी बाख्रा १८ महीनामा ४०–४५ किलोको हुन्छ।
खरी बाख्रा १६ महीनापछि हरेक दुई वर्षमा तीन पटक बियाउँछ। हरेक बेतमा कम्तीमा दुइटा पाठापाठी जन्माउँछ। अरू जातको बाख्रामा नपाइने खरीको विशेषता के पनि हो भने पाठापाठी हुर्काउन यसको माउ बढी दत्तचित्त हुन्छे। रैथाने भएकोले हत्तपत्त रोग नलाग्ने खरीलाई बँधुवा बनाउँदा पनि राम्रो नतीजा आउँछ। भीर–पहरा जहाँ पनि चर्न सक्ने खरी बाख्रालाई झ्रीको रुझ्ाइले आयातीत प्रजातिलाई जस्तो असर पार्दैन र दाना–घाँसमा पनि धेरै सन्तुलन मिलाइरहनुपर्दैन।
नेपाली किसानलाई खरी बाख्रा पाल्न प्रोत्साहित गर्नुपर्ने खाँचो त छँदैछ, त्यसमाथि व्यावसायिकताका लागि वंशानुगत सुधार अत्यावश्यक भइसकेको छ। मिसमास चरन र सबै जातका बाख्रा–बोकालाई एउटै खोरमा राख्ने चलनबाट खरी प्रजाति नासिंदैछ। निर्यातलाई समेत लक्ष्य बनाउँदै नश्ल सुधार गरेर व्यावसायिक पालनलाई प्रोत्साहन गर्ने हो भने खरी बाख्राले नेपालको आवश्यकता पूरा गरेर विदेशमा समेत परिचय बनाउनेछ।
खरीलाई विदेशमा चिनाउने हो भने यसको रोग प्रतिरोधात्मक र आफैं पाठापाठी हुर्काउने क्षमताका कारण पनि बढी लोकप्रिय हुन सक्छ। नेपाली चिजलाई 'प्याटेन्ट राइट' सहित अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कुरा नेपाली परिचय र समृद्धिसँग गाँसिएको विषय पनि हुँदै हो। नेपालमा अत्यधिक पाल्न थालिएको जमुनापारि भारतीय र बोचर अफ्रिकन भनेर चिनिन्छ। सम्बन्धित मुलुकले राम्रो प्रवर्द्धन गरेकैले यी प्रजाति विश्वभर फैलिएका हुन्। खरी पनि तिनीहरूभन्दा कम छैन भने हामीले नेपालसँग मिल्दोजुल्दो पहाडी भूभाग भएका भारत, अमेरिका, अष्ट्रेलिया, अफ्रिका लगायतका मुलुकमा पुर्याउने सोच किन नराख्ने?